३१ जेठ ०७५, काठमाडौं । रसियामा आजदेखि सुरु हुने विश्वकप फुटबल प्रतियोगिताको लाइभ चार नेपाली च्यानलले प्रसारण गर्ने भएको छ ।
नेपाल टेलिभिजन, एनटिभी प्लस, कान्तिपुर टेलिभिजनमा एचडी र डिटिएच डिसहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस एचडीमा विश्वकप फुटबलको लाइभ प्रसारण हेर्न सकिने छ ।
नेपाल टेलिभिजनमा स्याटेलाइट र केबल टिभी बिना नै सामान्य एन्टिनाले नै विश्वकप फुटबल हेर्न सकिने छ । नेपाल टेलिभिजनकै अर्को च्यानल एनटिभी प्लस र कान्तिपुर टेलिभिजन एचडीमा पनि विश्वकप लाइभ हेर्न सकिनेछ ।
त्यसैगरी नेपालको एकमात्र डिटिएच डिसहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस एचडीमा पनि नेपाली भाषामा कमेन्ट्रीसहित विश्वकप फुटबल लाइभ हेर्न सकिनेछ ।
फिफाले आधिकारिक रुपमा सार्वजनिक गरेको प्रसारण संस्थाहरुमा उल्लेख नभए पनि प्रसारण अधिकार किनेर प्रशारण गर्ने मिडिया हबले जनाएको छ ।
नेपालसहित दक्षिण एसियाली देशका लागि विश्वकप उद्घाटन समारोह स्याटेलाइट च्यानलहरु सोनी टेन १, सोनी टेन ३ र सोनी इएसपिएनमा हेर्न सकिनेछ ।
फिफाका अनुसार नेपालको इन्टरनेट, मोबाइल र रेडियोमा प्रसारण अधिकार समेत सोनी पिक्चर्स नेटवर्क इन्डियाले किनेको छ । सोनीको आधिकारिक वेबसाइट तथा एप सोनी लिभमार्फत् मोबाइल र इन्टरनेटमा विश्वकप उद्घाटन समारोह र म्याचहरुको प्रत्यक्ष प्रसारण हुनेछ ।