विवाह पञ्चमीमा सहभागी हुन उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्तीसहित जनकपुरमा

२६ मंसिर ०७५, काठमाडौं । ऐतिहासिक तथा सांस्कृतिक विवाह पञ्चमीमा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् ।

उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ विशेष विमान मार्फत भारतको अयोध्याबाट भगवान रामचन्द्रको जन्ती लिएर बुधबार जनकपुर आइपुगेका हुन् ।

मुख्यमन्त्री आदित्यनाथलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतसहितले स्वागत गरेका थिए ।जनकपुर आइपुगेका मुख्यमन्त्री आदित्यनाथले जानकी मन्दिरमा पूजा समेत गरेका थिए ।

मुख्यमन्त्री आदित्यनाथको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा प्रयोजनका लागि भारतबाट बुलेटप्रुफ गाडीसहित विशेष सुरक्षा टोली सहित नेपाली सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । अत्याधिक भिडभाड हुने अनुमान गर्दै सुरक्षा व्यवस्थाका लागि ड्रोन क्यामेराको प्रयोग गरिएको छ ।

पुजा पश्चात मुख्यमन्त्री आदित्यनाथले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको दिवा भोजमा सामेल भई दिवाभोज समापनपछि मुख्यमन्त्री आदित्यनाथ रंगभूमि मैदानमा आयोजना हुने सीतारामको विवाहको स्वयंवरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

तपाइको मत