६ असोज ०७५, काठमाडौं । नेपाली कांग्रेसले विधान संशोधन गर्नका लागि प्रारम्भिक मस्यौदा तयार पारेको छ ।
मुलुक संघीयतामा गएसँगै कांग्रेसले सो अनुरुप संगठन संरचना निर्धारण गर्न विधान संशोधन गरी पार्टीको आगामी मंसिर ५ देखि ९ गतेसम्म हुने महासभामा मस्यौदा पेश गर्ने गरी मस्यौदा तयार पारेको हो ।
पार्टी महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको १३ सदस्यीय केन्द्रीय विधान संशोधन मस्यौदा समितिले प्रारम्भिक मस्यौदा तयार गरेको हो ।
केन्द्रीय कार्यालय सानेपामा अयोजित पत्रकार सम्मेलनमा महामन्त्री खड्काले विधान संशोधनबारे जानकारी दिँदै सर्वसम्मत रुपमा प्रारम्भिक मस्यौदा तय भएको जानकारी दिए ।
त्यस्तै, प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन थप बहस र छलफल हुने बताउँदै महामन्त्री खड्काले भने– ‘प्रारम्भिक मस्यौदा लिएर हामी ७ प्रदेशका १२ स्थानमा पुग्दैछौ, मस्यौदाबारे ८ गतेदेखि १३सम्म दफाबार छलफल तथा सुझाव लिइनेछ र ती सुझाव समेटेर १४ गतेदेखि समितिले मस्यौदालाई अन्तिम रुप दिनेछ ।’
कांग्रेसले ३ महिना पहिले देखिनै देशभरका सबै जिल्ला समितिलाई विधान संशोधनबारे आधिकारिक प्रस्ताव राख्न पत्राचार गरेको थियो । तिनै सुझाव र हेटौडामा सम्पन्न पार्टी सभापतिको राष्ट्रिय भेलाले दिएका सुझावका आधारमा प्रारम्भिक मस्यौदा तयार गरिएको खड्काले जानकारी दिए ।