वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई ध्वजाबाहक एयरलाईन्सको साख जोगाउन पर्यटन मन्त्रीको निर्देशन

२४ भदौ ०७७, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि जहाज खरिद योजना अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।

मन्त्री योगेश भट्टराईले बुधबार नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाई यस्तो निर्देशन दिएका हुन् ।

आन्तरिकतर्फ दुई वटा मात्र टुईनटर हवाई जहाज रहेको र त्यसले ग्राहकको माग पूरा गर्न नसकेको भन्दै उनले दुर्गभ क्षेत्रमा सेवा प्रदान गर्न तत्काल जहाज खरिद योजना अघि बढाउन र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखलाई निर्देशन दिएका हुन् ।

नेपाल एयरलाईन्स नेपाली ध्वजाबाहक एयरलाईन्स भएकाले यसको साख जोगाउने गरी काम गर्न निर्देशन दिँदै नेपाल एयरलाईन्स ठूलो आर्थिक ऋणमा रहेकाले निगमको आर्थिक अवस्था सुधार गर्न समेत मन्त्री भट्टराईले निर्देशन दिएका छन् ।

यस्तै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा वापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत उनले दिर्नेशन दिएका छन् ।