वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

३० जेठ ०७५, काठमाडौं । वरिष्ठ कलाकार  भीमबहादुर थापाको निधन भएको छ ।

फिल्म, टेलिभिजन र रेडियोका वरिष्ठ कलाकार थापाको ९२ वर्षको उमेरमा काठमाडौंको मैतीदेवीस्थित निवासमा निधन भएको हो ।

लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित थापाको हिजो राति २ बजेतिर घरमा नै निधन भएको हो ।

उनको पार्थिव शरीर आज १० देखि १२ बजेसम्म पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिनेछ ।

कलाकार थापाले दर्जनौं चलचित्र, टेलिफिल्म र रेडियो नाटकमा अभिनय गरेका छन् । हाँस्य टेलिफिल्म ‘तीतो सत्य’ मा काम गरेपछि उनको लोकप्रियता झन् चुलिएको थियो ।

खोटाङ जिल्लाको लामिडाँडामा जन्मेका उनले दोस्रो विश्वयुद्ध लडेका थिए।  सन् १९४२ देखि ४५ सम्म दोस्रो विशवयुद्ध लडेका उनी त्यहाँबाट फर्किएर नेपालमै सैनिक सेवामा भर्ति भएका थिए।

त्यसपछि २०४१ सालमा सैनिक सेवाबाट निवृत्त थापा नेपाल टेलिभिजन स्थपाना भएपछि उनले त्यहाँ शाही नेपाली सैनिक कार्यक्रम सञ्चालनको मौका पाए।

उनका श्रीमती, छोरा र दुई छोरी छन् । उनले गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट लगायत पदकबाट विभूषित भएका थिए।

तपाइको मत