राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो – प्रधानमन्त्री

४ कार्तिक ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिन्दुहरुको महान पर्व दशैंको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज एक शुभकामना सन्देश जारी गरेको नेपालीहरूको महान् पर्व विजयादशमीको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका हुन् ।

‘पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, संस्कृति र पर्वहरूका दृष्टिले हामी वैभवशाली र गौरवशाली छौँ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत तुल्याई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो ।’

‘नेपाली समाजलाई समुन्नत बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धतासहित सामाजिक सहिष्णुता र सदभाव अझै अभिवृद्धि हुने अपेक्षा गर्दै विजयादशमी २०८० को शुभकामना व्यक्त गर्दछु’ सन्देशमा उल्लेख छ ।