१३ मंसिर ०८०, काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग केही दिन अघि भेटेर आयोगका पदाधिकारीले परामर्शका क्रममा सरकारलाई राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्न उपयुक्त हुने सुझाएको थियो ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना)को पदावधि सकिँदैछ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।