रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतको आदेश

१३ माघ ०८१, काठमाडौं । सहकारी ठगीको आरोप लागेका रास्वपाका सभापति रवि लामिछानेलाई जिल्ला अदालत, रुपन्देहीले धरौटीमा छाड्न आदेश दिएको छ ।

बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।

लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

सहकारीलाई रकम तिर्न प्रयोग भएको लामिछानेद्वारा हस्ताक्षरित चेक, श्रीमती निकिता पौडेललाई भएको भुक्तानी, झुठो विवरणबाट भएको कम्पनीको स्वामित्व हस्तान्तरण लगायतलाई आधार बनाउँदै सहकारी ठगीमा उनको संलग्नता पुष्टि हुने सरकारी वकिलले अभियोग पत्रमा जिकिर गरिएको थियो ।