२६ बैशाख ०७५, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चीनको राजधानी बेइजिङका सेक्रेटरी लिजियाङ नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ ।
बुधवार बिहान प्रचण्ड निबास खुलटारमा भेटवार्ता भएको हो । लिजियाङ नेतृत्वको टोलीसँग छलफल गर्दै प्रचण्डले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन् ।
अध्यक्ष दाहालले भने,‘हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हो। त्यसका लागि सम्पर्क सञ्जालको विस्तार नै मुख्य कार्यसूची रहेको छ। त्यसमा सडक सञ्जालको विस्तार, रेलमार्गको विस्तार र सम्पर्क सञ्जालको विस्तारबाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ।’
उप्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमण हुँदा तत्कालिन राष्ट्रपति हु जिन्ताओसँग यही कनेक्टिभिटिका विषयमा छलफल भएको स्मरण गर्दै प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री बनेपछि पनि यही विषयमा राष्ट्रपति सि जिङपिङसँग छलफल भएको स्मरण गराएका थिए ।
चिनियाँ टोलीले चिनियाँ जनताहरुको आकर्षक गन्तव्य नेपाल भएकाले नेपालको पर्यटन प्रवर्द्धनमा चिनियाँ लगानीकर्ता लोभिएको बताएका थिए । दुई देशको आपसी सम्बन्धबाट नेपालको आर्थिक विकासमा सहयोग पुग्ने प्रतिनिधि मण्डलको नेतृत्व गरेर आएका सचिव लिजीयाङले बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
छलफलमा प्रचण्डले पर्यटन क्षेत्रको विकासका लागि चिनियाँ जनता र सरकारको चासो बारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वास दिलाएका प्रचण्ड सचिवालयले जानकारी दिएको छ ।