१८ पुस ०७५, काठमाडौं । सरकारले दुई वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड अनियमितता भएको संसदीय उपसमितिले निष्कर्ष निकाल्दै अनियमिततामा संलग्नलाई कारवाहीको लागि सिफारिस गरेको छ ।
उपसमितिले अनियमिततामा संलग्न रहेको ठहर गर्दै पूर्व र वहालवाला तीन मन्त्रीसहित तीन सचिवलाई कारवाहीको सिफारिस गरिएको हो ।
कारवाहीका सिफारिसमा पर्नेमा प्रमुख दोषी नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, तत्कालीन पर्यटनमन्त्रीहरु जीवनबहादुर शाही, जितेन्द्रनारायण देव र वहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारी छन् ।
कारवाहीका सूचीमा रहेका शाही कर्णाली प्रदेशका प्रमुख विपक्षी दल काँग्रेसका नेता हुन् भने देव राष्ट्रिय सभाका सदस्य हुन् ।
त्यस्तै, कारवाहीका सूचीमा रहेका सचिवहरुमा तत्कालीन पर्यटन सचिव प्रेमकुमार राई, शंकरप्रसाद अधिकारी र वहालवाला पर्यटन सचिव कृष्णप्रसाद देवकोटा रहेका छन् । राई हाल गृह मन्त्रालयका सचिव छन् भने अधिकारीले अवकास पाइसकेका छन् ।