२९ फागुन, म्याग्दी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले मधेस केन्द्रित दलले हठ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दम्भ नत्यागेसम्म मुलुकले निकास नपाउने बताएका छन् ।
नेपाल प्रेस युनियन म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता डा. रिजालले एमालेले संविधान संशोधन नमान्ने र मधेस केन्द्रित दलले हाल निर्वाचन नमान्ने अवस्था रहेकाले यी दुई पक्षले दम्भ नत्यागेसम्म मुलुकले निकास नपाउने बताएका हुन् ।
नेता डा. रिजालले दलबीचको सम्झौताले मात्रै वर्तमान समस्याको हल हुन सक्ने भन्दै मुलुकलाई संवादबाटै समाधान दिनुपर्ने बताए ।
संविधान जारी गर्दा नै तत्कालीन प्रमुख तीन राजनीतिक दलले मधेस केन्द्रितलगायत अन्य विभिन्न क्षेत्र र समुदायका जायज विषयलाई संविधान संशोधनमार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाइसकेको स्मरण गर्दै नेता डा. रिजालले विगतको प्रतिबद्धताबाट कोही पनि पन्छिन नमिल्ने बताए ।