२७ असोज ०७९, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण तथा नतिजा सार्वजनिक गरेको भन्दै त्यस्तो कार्य नगर्न भनेको छ ।
आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले बिहीबार एक विज्ञप्ति जारी गरेर दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण तथा नतिजा सार्वजनिक नगर्न भनेको हो ।
“२०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको छ,” विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।”
आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको भन्दै आयोगले भनेको छ, “व्यवस्थाविपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”