१० फागुन ०७५, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले १५औ मजदुर बलिदान दिवसको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
महासंघका महासचिव जगत सिंखडाले हरेक वर्ष फागुन ११ गते मनाउँदै आइरहेको मजदुर बलिदान दिवसको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन् ।
तीन नम्बर प्रदेशका सांसद समेत रहेका महासचिव सिंखडाले भने, ‘यो दिवस मजदुर शहीद, बेपत्ता, घाइते, अपाङ्ग मजदुरहरूको सम्झनामा मनाइने श्रमिकहरूको राष्ट्रिय कार्यक्रम हो । यसपटक महासंघले मजदुर बलिदान दिवस सातवटै प्रदेशमा मनाउने तयारी गरेको छ ।’
जनयुद्धका क्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष लगायत क्रियाशील सदस्यहरूले अमूल्य जीवन बलिदानी गरेको स्मरण गर्दै महासचिव सिंखडाले भने, ‘जनमुक्ति सेनाबाट तत्कालिन शाही सेनाले क्षति व्यहोरेपछि कालिकोटको कोटवाडामा विमानस्थल निर्माणमा जुटिरहेका निहत्था मजदुरहरूमाथि हेलिकप्टरबाट आक्रमण गरी श्रम गरिरहेका धादिङका २९ जना मजदुरहरूको हत्या गरेकाे थियाे । तिनै मजदुरहरू र जनयुद्धकाक्रममा साहदत सम्पूर्ण मजदुर सहिदहरूका स्मृतिमा यो दिवस मनाउँदै आएका छौं ।’
सांसद सिंखडाका अनुसार अखिल नेपाल ट्रेड युनियन महासंघले यसपटक ‘मजदुर बलिदान दिवस’ सबै स्थानीय तह, जिल्ला र सातै प्रदेशका साथै केन्द्रीयस्तरको कार्यक्रम धादिङको जोगीमारामा मनाउँँदै छ ।
अहिले जे जति परिवर्तन भएका छन् (गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिक, समावेशिता) सबै श्रमिकहरूका बलिदानीबाट प्राप्त उपलब्धि हुन्’ उनले भने, ‘अहिले आएको श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, न्यूनतम् वेतनबृद्धि लगायतका प्राप्तिहरू तिनै महान सहिद, बेपत्ता, घाइते, अपाङ्गहरूका बलिदान र योगदानबाट प्राप्त उपलब्धिहरू हुन् ।’
निरन्तर क्रान्तिमै इट्टा थप्ने उद्देश्यले यो दिवस मनाउने गरिएको भन्दै सांसद सिंखडाले भने, ‘महान् सहिदहरूका अधुरा सपनाहरूलाई पूरा गर्ने प्रतिबद्धताका साथ यसपटककाे मजदुर बलिदन दिवस मनाउँदै छौं ।’
नेपालको श्रम क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न श्रम ऐन, सामाजिक सुरक्षा कोष ऐन, न्यूनतम् वेतनबृद्धि लगायतका कानुनहरू कार्यान्वयनका चरणमा रहेकाले यो दिवसलाई ती ऐनहरू कार्यान्वयनका लागि पनि संघर्षकै रूपमा मनाउन उनले सुझाए ।
हरेक वर्ष मजदुर बलिदान दिवसका अवसरमा महासंघले मजदुर सहिदका परिवारलाई सम्मान र सहयोग उपलब्ध गराउँदै आइरहेको छ । यस वर्ष पनि मजदुर सहिदका परिवारलाई सम्मानका साथै राहत प्रदान गर्ने कार्यक्रम रहेकाे सांसद सिंखडाले बताए ।