बाढीले १५ घर बगाउँदा दुईको मृत्यु, १९ जनाभन्दा बढी सम्पर्कबाहिर

२५ असार ०७७, सिन्धुपाल्चोक । जिल्लाको बाह्रबिसे नगरपालिकास्थित जम्बुमा भोटेकोशी नदीले १५ घर बगाउँदा दुई जनाको शव फेला परेको छ भने १९ जना भन्दा बढी सम्पर्कबाहिर रहेका छन् ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार गएराति भोटेकोशीमा आएको बाढीले बाह्रबिसेको बजार बगाएको छ । १४ घरका १९ जना हराइरहेका छन् । उनीहरुको खोजी कार्य जारी छ ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नगरपालिकाको जम्बुमा रहेको एल्मो ठाडो खोलामा राति ११ः३० बजेबाट बाढी आउँदा यस्तो विपद भएको हो । उनले अहिले प्रहरी, नेपाली सेना र स्थानीयले बेपत्ता भएकाहरूको खोजी कार्य गरिरहेको पनि बताए ।

प्रहरीले बाढीले बगाएका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव निकालिएको अरु बेपत्ताको खोजी भइरहे पनि विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

यस्तै वर्षातले चाकुबजारनजिकै रहेको झ्यालेखोलास्थित सडक, बाह्रबिसे नगरको जलेटारको सडक साथै लामोसाँघुमा भर्खरै लगाएको प्लम्ब ढलान पनि बगाएको प्रहरीले जानकारी दिएको छ ।