भुटानी शरणार्थी प्रकरण : रिजाल र आङटावाको शनिबार बयान हुने

५ जेठ ०८०, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि आङटावा शेर्पासँग शनिबार बयान लिने भएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको गिरोहसँग सम्बन्ध देखिएपछि पक्राउ परेका रिजाल र खाँणसँग सरकारी वकिलको कार्यालयले बयान लिने भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले भने, ‘मुद्दा लैजाने तयारी भइरहेकाले यो अनुसन्धान र अभियोजनसँग जोडिएका अधिकारीहरुले शनिबार पनि काम गर्न लागेका हुन् ।’

भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १२ चैत २०७९ मा ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र पाँथचरका टेक गुरुङलाई पक्राउ गरेको थियो । हालसम्म यो प्रकरणमा १६ जना पक्राउ परिसकेका छन् ।