२ फागुन ०७५, राजविराज । प्रदेश २ सरकारको ‘मुख्य मन्त्री बेटी बचाऊ बेटी पढाऊ अभियान’ सप्तरी जिल्लाबाट शुभारम्भ गरिएको छ ।
जिल्लाको विकट र दुर्गम गाउँपालिकाको रुपमा चिनिएको बलान बिहुलमा आयोजित एक कार्यक्रमकाबीच ७० जना छात्रालाई साईकल वितरण गर्दै मुख्यमन्त्री लाल बाबु राउतले अभियानको शुभारम्भ गरेका हुन ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले छोरीलाई विद्यालय जान उत्पे्ररित गर्ने उद्देश्यले तराई मधेशका जिल्लामा छोरीलाई विद्यालय पठाउनेको संख्या थोरै भएकाले छोरीलाई पनि शिक्षा दिलाउन उत्पे्ररित गर्ने उद्देश्यले अभियान चलाएको बताए ।
प्रदेश २ को सबै जिल्लामा सञ्चालन हुने अभियानमा सवै अभिभावकको साथ र सहयोग गरे यो अभियानले सार्थकता पाउने मुख्यमन्त्री राउतको भनाई थियो ।
छोरीलाई शिक्षा दिन सके मात्र समाजमा सन्तुलन र सभ्य सामाज निर्माण हुने बताउँदै मुख्यमन्त्री राउतले प्रदेशमा छोरीलाई शिक्षातर्फ आकर्षण गराउन रोजगारीमा ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागेको जानकारी पनि दिए ।
संविधानमा ३३ प्रतिशत महिला आरक्षणको दायरामा राखिएको भएपनि प्रदेश सरकारले ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागेको छ । अव छोरीलाई हेर्ने आँखा र चश्मा परिवर्तन गरी उनीहरुसँग पनि सामाज व्यवहार गर्नु पर्ने उनको भनाई थियो ।
उनले शिक्षा सूचाङ्कमा प्रदेश २ निकै पछाडि परेको जिकिर गर्दै यसमा सुधार ल्याउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु अभियानकै रुपमा सुरु गरेको र आगामी ९ फागुनमा विरगंजबाट ‘बेटी शिक्षा बिमा अभियान’ शुरु हुने जानकारी दिए ।
कार्यक्रममा छोरीलाई विद्यालय जान प्रेरित गर्ने उदेश्यले स्थानिय कलाकारहरुद्वारा चेतना मुलक नाटक समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्थानिय अभिभावकको उल्लेख्नीय सहभागिता थियो ।