बालिका बलात्कारका आरोपितहरु तीन वर्षपछि पक्राउ

४ मंसिर ०७५, राजविराज । १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन वर्षपछि दुई आरोपितलाई पक्राउ गरेको छ ।

प्रहरीले राजविराज नगरपालिका ४ का शम्भु साह र राजविराज ८ का नविन दत्तलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

प्रहरी उपरीक्षक विष्टका अनुसार उच्च अदालत जनकपुर राजविराज इजलाशले ०७५ कात्तिक १५ गते कारागारमा थुनामा राखी पुर्पक्ष गर्नु भन्ने आदेश दिए बमोजिम आरोपितहरुलाई पक्राउ गरिएको हो ।

राजविराज ८ स्थित भुपेन्द्र यादवको घरमा डेरा गरी बस्ने अमरकुमार यादवको कोठामा ०७१ चैत १३ गते सामूहिक बलात्कार गरेको आरोपमा आरोपितहरुसहित सात जनाविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७१ चैत १३ गते दिएको उजुरी ०७१ चैत २४ गते दर्ता भएको थियो ।

आरोपितहरुमध्ये जितेन्द्र र दिपकलाई प्रहरीले चैत २५ गते गिरफ्तार गरेकोमा जिल्ला अदालतको आदेशमा तेरहौता गाविस–३ का २५ वर्षीय जितेन्द्र मण्डल खंग ०७२ वैशाख २४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए भने सुनसरी जिल्ला सतेरझोरा गाविस–२ का १८ वर्षीय दिपक खेरवार यादव सोही दिन साधारण तारेखमा रिहा भएका थिए ।

आरोपितहरुमध्ये शम्भु, नविनसहित मलेठ गाविस–७ का २१ वर्षीय फुदिन खान, राजविराज नपा–५ का २५ वर्षीय कमलकिशोर साह, नर्घो गाविस–९ का २० वर्षीय दिपेशकुमार यादवलाई सोहि दिन अदालतले वारेण्ट पूर्जी जारी गरेको थियो ।

आरोपितमध्ये जिल्ला अदालतलको इजलाशले जितेन्द्र, कमल, दिपकलाई ०७३ जेठ २४ गते अभियोग दावीबाट सफाई दिएको थियो भने शम्भु, नविन, फुदिन र दिपेशको हकमा मुद्दा मुल्तबी राखी दिने ठहरी अंश रोक्काको फैसला भएको थियो ।

जिल्ला अदालतमा ०७३ पुस ८ गते हाजिर भएका शम्भु र नबिन तथा ०७४ बैशाख ५ गते हाजिर भएका फुदिनलाई हाजिर भएकै मितिमा जिल्ला अदालतले जनही ४० हजार धरौटी राखी तारेखमा रिहा गरेको थियो ।

जिल्ला अदालतको सो आदेश बेरितको भएको भन्दै बदर गरी थुनामा राखी कारवाही गर्न माग गर्दै जिल्ला न्याधिवक्ताको कार्यालयले ०७५ असार ५ गते निवेदन दिएकोमा उच्च अदालतले गत कात्तिक १५ गते पुर्पक्षका लागि थुनामा राखी कारवाही गर्ने आदेश गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

तपाइको मत