८ पुस ०७५, सप्तरी । प्रदेशकोे राजधानी र नामकरण सम्बन्धमा सदरमुकाम राजविराजमा छलफल तथा सुझाव संकलन गरिएको छ ।
प्रदेश २ का संयोजक सांसद डा. हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय प्रदेशको राजधानी तथा नामाकरण संवाद तथा सुझाव आयोग टोलीले जनप्रतिनिधि, बुद्धिजीवि, अधिकारकर्मी, सञ्चाकर्मी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल र सुझाव संकलन गरेको हो ।
नेपालको संविधान २०७२ मा प्रदेशको राजधानी र नामाकरण प्रदेश संसदबाट तय गर्ने व्यवस्था अनुसार प्रदेश सरकारले आयोग गठन गरी प्रदेशको नामाकरण र राजधानीका लागि प्रदेश २ का आठ वटै जिल्लामा सुझाव संकलन कार्य शुरु गरेको हो ।
कार्यक्रममा अधिकांश सहभागीले प्रदेश २ को राजधानी जनकपुर र प्रदेशको नामाकरण ‘मधेश प्रदेश’ हुनु पर्ने सुझाव दिनु भएका थिए ।
कार्यक्रममा इतिहास विज्ञ डा. पिताम्बरलाल यादव, वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल, राजनैतिक विश्लेषक प्रा. अमरकान्त झा, प्रदेश सांसद गीता यादव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, अधिकारकर्मी विकास तिवारी, जंगबहादुर सिंह, बार एशोसिएशनका अध्यक्ष रमानन्द साहका साथै विभिन्न स्थानीय तहका उपप्रमुख उपप्रमुख र राजनीतिक दलका प्रतिनिधिहरुले आ–आफ्नो सुझाव दिएका थिए ।
कार्यक्रमममा केहीले प्रदेशको राजधानी सप्तरी सदरमुकाम राजविराज तथा प्रदेशको नामाकरण मध्य प्रदेश, मिथिला प्रदेश, जानकी प्रदेश, विदेह प्रदेश, मैथिली–भोजपुरा प्रदेशलगायतका नाम राख्नु पर्ने सुझाव समेत दिएका थिए ।
संवाद तथा सुझाव आयोग प्रदेश नं. २ का संयोजक सांसद डा. हरिवंश झा तथा सदस्यद्वय रामप्रवेश बैठा र मोहनलाल चौधरीले प्रदेशको राजधानी तथा नामाकरणको विषयमा चलाइएको संवादमा सप्तरीबाट उत्कृष्ट तथा तर्क संगत सुझावहरु आएको प्रतिक्रिया दिए ।