प्रदेशलाई अधिकार दिन संघ सरकार उदार छैन – मुख्यमन्त्री पोखरेल

२६ फागुन ०७८, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता बलियो बनाउन केन्द्र सरकारकै अवरोध भएको बताएका छन् ।

बिहीबार गण्डकी प्रदेशसभमा सम्बोधन गर्दै उनले केन्द्र सरकार प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भन्ने विषयमा उदार हुन नसकेको बताए ।

‘चाहे यसअघिको दुई तिहाइ नजिकको सरकार होस, या अहिले नेपाली कांग्रेसको नेतृत्वको गठबन्धन सरकार संघीयता सुदृढीकरण अर्थात् प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भन्नेमा उदार हुन सकेको छैन’ मुख्यमन्त्री पोखरेलले भने ।

प्रदेश सरकार अस्तित्वमा आएको चार वर्ष बितिसक्दा पनि संघीय सरकारले कानुन नबनाइदिएका कारण कतिपय काम अघि बढ्न नसकेको उनले बताए ।