१५ पुस ०७७, काठमाडौं । कामचलाउ प्रधानमन्त्री खड्ग प्रसाद ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आगामी बैशाखमा हुने निर्वाचनलाई स्वीकार गरेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफू पक्षीय सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले प्रचण्ड–माधव समूहलाई दुईचार सिट जित्नका लागि भए पनि ‘कपडा बिगारेर’ सडकमा बस्नु भन्दा निर्वाचनको तयारीमा लाग्न सुझाए ।
नेकपाका अध्यक्ष प्रचण्डले मंगलबार भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा ‘बैशाखपछि ओलीको पत्तासाफ हुने’ भनेर दिएको अभिव्यक्तिलाई खण्डन गर्दै ओलीले प्रचण्ड–माधव समूहले चुनाव स्वीकार गरेको बताएका हुन् ।
अब प्रचण्डको भविष्यवाणी नमिल्ने भन्दै उनले भने, “उहाँहरु भविष्यवाणी कस्तो नमिल्ने नमिल्ने खालको गर्नुहुन्छ भने पोहोर म बिरामी परें, अब मरिहाल्छ भन्नुभयो । त्यो पनि मिलेन । म उपचार गर्न बैंकक गएँ । काठमाडौं बाकसमा फर्कन्छ भने तर सिटमै बसेर आएँ ।”
यसैगरी कार्यक्रममा प्रतिनिधिसभा पुनर्स्थापना गर्न संविधानतः नमिल्ने भन्दै प्रधानमन्त्री ओलीले पार्टी फुट्नु अघि आफूसँग संसदको ६४ प्रतिशत बहुमत रहेको त्यसपछि ३६ प्रतिशतले सरकार नबन्ने भएकाले साथै राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव र आफूमाथि अविश्वासको प्रस्ताव तयार भएपछि प्रतिनिधिसभा विघटन गरेको उनले बताए ।