पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा समर्थकहरूले गरे स्वागत

२५ फागुन ०८१, काठमाडौं । राजावादीका समर्थकहरूले पोखराबाट काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

विमानस्थलको मूल गेटमा जम्मा भएका राजावादी समर्थकहरूले पूर्वराजाको समर्थनमा नारा लगाएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत नाराबाजी गरेका थिए ।

विमानस्थल मूल गेटबाट बाहिरिने क्रममा राजावादी समर्थकहरूले शाहलाई फूल, माला र खादाले स्वागत गरेका थिए भने पूर्वराजाले समर्थकहरूलाई अभिवादन गरेका थिए ।

पूर्वराजालाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित समर्थकहरू विमानस्थलको मुख्य गेटमा पुगेका थिए ।