पुरीको हत्यामा संलग्न पाँचजना पक्राउ

२७ फागुन ०७५, बुटवल । रुपन्देहीको देवदहमा हत्या गरिएका तरुण दलका नगर सदस्य अनिष पुरीको हत्यामा संलग्न पाँचजनापक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा देवदह ९ का २१ वर्षीय अर्जुन मगर, २० वर्षीय सुवास अर्याल, २८ वर्षीय रमेश शाही, २१ वर्षीय आकाश थापा र २१ वर्षकै शिशिर राना रहेका छन् ।

देवदहमा सञ्चालित ब्यापार मेलामा पार्किंङको विषयमा युवाहरुको दुई समूहबीच विवाद हुँदा मोटरसाइकलमा सवार देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २३ वर्षीय पुरीलाई देवदह भलुहीमा आइतबार साँझ ढुंगा र लाठीले प्रहार गरी हत्या गरेका थिए । टाउको र छातीमा गम्भीर चोट लागेका पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेजमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाका मुख्य योजनाकार देवदहकै माला भन्ने सागर राना र तारा बराल भने फरार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराम भण्डारीले बताए ।

मृतक पुरी नेपाल तरुण दलको सक्रिय कार्यकर्ता रहेका थिए । तरुण दल रुपन्देहीले घटनाको बिरोधमा सोमबार दिउँसो खैरेनीमा दुइ घण्टा चक्का जाम गरेको छ । तरुण दलका जिल्ला सचिव रमेश शाहीद्धारा जारी विज्ञप्तिमा घटनाको तत्काल सत्य तथ्य बाहिर ल्याउन र दोषीलाइ कारबाही गर्न माग गरेको छ ।

एक मात्र छोरा अनिषको हत्यापछि उनका बुबा र आमा बेहोस भइ बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भइरहेको छ । मृतक पुरीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

 

तपाइको मत