पार्टी एकीकरणले ल्याएको उत्साहजनकको तुलनामा निर्वाचन परिणाम निराशाजनक – कमल थापा

४ साउन ०७४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।

वेब तस्बिर

केन्द्रीय कार्यसमितिको बैठकमा राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा उपस्थित भएका छैनन् । कार्यसम्पादन समितिको बैठकमा नगएका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द भने केन्द्रीय समितिको बैठकमा उपस्थित भएका छन् ।

बैठकमा राजनैतिक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष कमल थापाले राप्रपालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

हिन्दुराष्ट्रको शास्वत मान्यतामा आधारित भएर राप्रपाको बलियो एवं लोकप्रिय राष्ट्रवादी शक्तिको रुपमा उदय भएको भन्दै उनले भने, ‘हिन्दुराष्ट्र विरोधी र नेपालको राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई कमजोर बनाएर आफ्नो स्वार्थ शिद्ध गर्न चाहने राष्ट्रिय र अन्तर्राष्ट्रिय गिरोह र शक्तिकेन्द्रले संगठित र योजनावद्ध रुपमा राप्रपाबिरुद्ध अभियान चलाएका छन् ।’

पार्टीको विचार, नेतृत्व र समग्रमा पार्टीप्रति नै वितृष्णा र घृणा फैलाएर राप्रपा र राप्रपाको विचारलाई सदाको लागि समाप्त पार्न चाहने गिरोह र प्रवृत्तिभित्र केही दलका नेतादेखि पत्रकार, एनजीओकर्मी र नागरिक अगुवा नै रहेको भन्दै थापाले यसतर्फ पार्टी समय मै सचेत रहनु पर्ने बताएका छन् ।

पार्टी अध्यक्ष थापाले स्थानीय तह निर्वाचनमा राप्रपाले अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गरेका छन् ।

पार्टी एकीकरणले ल्याएको उत्साहजनक माहौल तथा आमजनताको अपेक्षाको तुलनामा निर्वाचन परिणाम निराशाजनक भएको भन्दै उनले भने, ‘यो निर्वाचनले हाम्रा सबल र कमजोर पक्षहरुलाई उजागर गरेको छ ।’

तपाइको मत