परीक्षा र मूल्यांकनमा ट्रेडयुनियन अधिकार हुँदैन – मन्त्री पोखरेल

१६ असार ०७५, भक्तपुर । शिक्षा, विज्ञान तथा प्राविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको परीक्षा, मूल्यांकनमा ट्रेड युनियन अधिकार नहुने बताएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले कुनैपनि बहानामा एसइइ परीक्षाको नतिजा त्रुटि प्रकरणमा दोषी उम्कन नदिइने भन्दैे त्यस क्रममा कर्मचारीहरुको ट्रेड युनियन अधिकार आफूलाई स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।

कार्यक्रममा मन्त्री पोखरेलले विद्यार्थीको जीवनमा खेलवाड गर्ने अधिकार कसैलाई नभएको जिकिर गर्दै परीक्षाबोर्डले परीक्षा व्यवस्थापनमा यस्तै त्रुटि गर्दै गए परीक्षा र मूल्यांकनको जिम्मा अन्य विश्वासिलो संगठनलाई दिन सक्ने स्पष्ट पारे ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले प्राविधिक सिस्टममा आएको गडबडीका कारण एसइइ नतिजामा केही त्रुटि देखिए पनि तत्कालै समाधान गरिएकाले यसलाई ठूलो विषय बनाउन नहुने बताए ।

बोर्ड अध्यक्ष पौडेलले परीक्षा बोर्डले दीर्घकालीन सुधारको रणनीति बनाएर अघि बढ्न खोजिरहेकोले परीक्षालाई आगामी दिनमा अझै विश्वसनीय र वैज्ञानिक बनाउने प्रतिवद्धता व्यक्त गरे ।

परीक्षा र मूल्यांकनलाई वैज्ञानिक बनाइने, सवैकामलाई अनलाइन प्रणालीमा लगिने, उत्तरपुस्तिका परिक्षणको कमजोरी हटाउन वारकोड पद्धति लागुगर्ने योजनामा बोर्ड रहेको पौडेलले स्पष्ट पार्दै उनले भने –‘नतिजामा त्रुटि हुनुहुदैन्थ्यो भयो, फेरी नहुने आश्वस्त पार्न चाहन्छौं’– पौडेलले भने, ‘अब बोर्डका काम विश्वासयोग्य र वैज्ञानिक हुन्छ ।’

२०७२ असार १५ गते संसदबाट शिक्षा ऐनको आठौं संशोधन भएसँगै सोही ऐनको व्यवस्था अनुसार परीक्षा बोर्डको स्थापना भएको थियो । यसबीच बोर्डले परीक्षा सञ्चालन र नतिजा प्रकाशन सँगै अन्य केही कामसमेत गर्दै आएको छ ।  बोर्डले यस बीच कोव्सेको अन्तर्राष्ट्रिय परीक्षा बोर्डहरुको ४६ औं सम्मेलन, कर्मचारीहरुलाई दक्षता अभिवृद्धि गर्न सफ्टवेयर सम्बन्धी तालिम, प्रश्नपत्र निर्माण तथा व्यवस्थापन, अक्षरांकन पद्धति कार्यान्वयन, प्रअ तथा परीक्षा हेर्ने कर्मचारीहरुलाई परीक्षा व्यवस्थापन सम्बन्धी कार्यशाला एवं गोष्ठि सम्पन्न गरेको छ ।

तपाइको मत