विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले एक आर्थिक वर्षमा ४९ हजार बिरामीको निःशुल्क उपचार गरेको बताएको छ ।
नोबेल शिक्षण अस्पतालले २०७४ साउनदेखि २०७५ असारसम्म सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४९ हजार २ सय ११ जना बिरामीको निःशुल्क उपचार गरेको हो ।
अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालकाअनुसार ग्रामिण क्षेत्रलाई लक्षित गरी आर्थिक वर्ष ०७४÷७५ मा ६५ वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
पूर्वका १० जिल्लामा सञ्चालित शिविरबाट २७ हजार ३ सय ६५ महिला र २१ हजार ८ सय ४६ पुरुषको निःशुल्क उपचार गरिएको दाहालले जानकारी दिए ।
उनले मोरङ, सुनसरी, झापा, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, खोटाङ, सप्तरी र उदयपुरमा सञ्चालित शिविरबाट बालबालिकादेखि बृद्धबृद्धासम्मले निःशुल्क उपचार पाएको बताए ।
निःशुल्क स्वास्थ्य शिविरमा मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गरिएको छ । शिविरमा ल्याव टेष्ट, ईसीजी र भिडियो एक्सरेपनि निःशुल्क गरिएको छ ।