१८ माघ ०७५, काठमाडौं । वामपन्थी चिकित्सकका संगठनले नेपाल चिकित्सक संघले घोषणा गरेको आन्दोलनमा सहभागी नहुन आह्वान गरेका छन् ।
राष्ट्रिय चिकित्सक संघ नेपाल र नेपाल प्रगतिशील चिकित्सक संघले संयुक्त बिज्ञप्ति जारी गरी नेपाल चिकित्सक संघको एजेण्डा राजनीतिक रहेकाले सो संघले घोषणा गरेको आन्दोलनमा आह्वान सहभागी नहुन आह्वान गर्दै आन्दोलन औचित्यहीन रहेको बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग आबद्ध चिकित्सक संगठन राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा.सन्तोष पौडेल र प्रगतिशीलका अध्यक्ष डा. माधव लम्सालले जारी गरेको संयुक्त विज्ञप्तिमा नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कार्यक्रममा समर्थन जनाउन नसकिने उल्लेख गरिएको छ ।
स्वास्थ्य सेवा जस्तो अति संवेनशील क्षेत्रमा हलुका ढंगले बन्द हड्ताल गर्ने अप्रिय निर्णयले आम जनता र चिकित्सकबीच दूरी बढ्ने निश्चित रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै, दुबै संगठनले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको चिकित्सा शिक्षा विधेयकलाई स्वागत गर्दै यसले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय तथा जनमुखी बनाउन नेपालको इतिहासमा कोशेढुंगा साबित हुने दाबी पनि गरेका छन् ।