२० पुस ०७६, काठमाडौं । नेपाली सेनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य शिविरबाट ३४ हजार नागरिक लाभान्वित भएको जनाएको छ ।
सेनाले आइतबार पत्रकार सम्मेलन गरेर १० दिन सञ्चालनसम्म गरेको स्वास्थ्य शिविरबाट ३४ हजार एक सय ७२ जनाले सेवा लिएको बताएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा अहिलेसम्मकै बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको दाबी गर्दै सैनिक प्रवक्ता सहायक रथी विज्ञान देव पाण्डेले भने, ‘दश दिनसम्म चलेको शिविरबाट ३४ हजार एक सय ७२ जनाले सेवा लिएका छन् भने ३ सय २९ जनाको सफलतापूर्वक शल्यक्रिया पनि भएको छ ।’
सैनिक प्रवक्ता पाण्डेकाअनुसार शिविरमा १ सय ८० जना डाक्टर, अन्य स्वास्थ्यकर्मी ११० जना निरन्तर खटिएका थिए ।
उक्त स्वास्थ्य शिविरमा स्त्री रोग, बालरोग, श्वासप्रश्वास, आँखा, नाक, कान, घाँटी, हाडजोर्नी, मानसिक रोग, चर्म रोग बिरामीहरूको सफल उपचार गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।
नेपाली सेनाले नागरिकसँगको सम्बन्धलाई अभिवृद्धि गर्ने लक्ष्य अनुरुप १० दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।