नुवाकोटमा बस दुर्घटना हुँदा एक मृत्यु, ५८ घाइते

३० साउन ०७५, काठमाडौं । विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन् ।

बुधबार बिहान म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो ।

हेलिकप्टरमा काठमाडौं ल्याइएकी तामाङको ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

दुर्घटनामा ५८ जना घाइतमध्ये गम्भीर गम्भीर अवस्थामा रहेका साल्मेका ५६ वर्षीय प्रेमसिंह तामाङ, ५७ वर्षीय होमबहादुर तामाङ, २० वर्षीया दिवामाया तामाङ, ७५ वर्षीय छिरिङ तामाङ, ५६ वर्षीय पूर्वबहादुर लामा तामाङ, वीरबहादुर विक, उत्तम तामाङ र ४० वर्षीया मङ्गलीमाया तामाङलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

उनीहरुको राजधानीका ग्रीनसिटी र ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

बसले मिनीट्रकलाई बाटो दिने क्रममा सडकको डिल भासिएर दुर्घटना हुँदा बस ४० मिटर तल कोदोबारीमा पुगेको थियो ।

तपाइको मत