२६ कार्तिक ०७५, नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
नवलपरासीका गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा दाङबाट काठमाडौँका लागि आउँदै गरेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार २५ जना घाइते भएका हुन् ।
घाइतेमध्ये दाङ जिल्ला अनुसादाङ घोराही उपमहानगरपालिका–१५ का २८ वर्षीय होमबहादुर पोखरेल, दाङ शान्तिनगर गाउँपालिका–१ का एक वर्षीय बालक यनुष विक र तुलसीपुरका २४ वर्षीया लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।
घाइते सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।