नयाँ वर्षले राष्ट्रमा दिगो शान्ति र राष्ट्रिय एकता पैदा गर्न सकोस् – राष्ट्रपति भण्डारी

१ बैशाख ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा नयाँ वर्ष २०७७ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु साथै सर्वाङ्गीण विकासका लागि शुभकामना व्यक्त गरेकी छन् ।

नयाँ वर्षको उपलक्ष्यमा सोमबबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र भौतिक दूरी कायम गर्नुपर्ने देखिएको बताइकी छन् ।

उनले हाम्रो अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्नका लागि यहाँका आन्तरिक स्रोत उर्वर भूमि, जलसम्पदा, वनजङ्गल र जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु हाम्रो गहन दायित्व हुन आएको औँल्याएकी छन् ।

राष्ट्रपतिले उच्च मनोबल र सकारात्मक सोचका साथ कोरोना महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई पुनः एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेकी छन् ।

नयाँ वर्षका अवसरमा हर्षोल्लास आदानप्रदान गर्ने कार्यमा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै उनले नयाँ वर्षले राष्ट्रमा दिगो शान्ति, राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना समेत व्यक्त गरेकी छन् ।