धरौटी जग्गा फिर्ता नहुँदा समस्या

काठमाडौं । म्यानपावर कम्पनी दर्ता गर्न धरौटीमा राखेको १९ रोपनी ११ आना जग्गा फुकुवा नहुँदा धादिङको नौबिसे ५ स्थित माइला बिचल्लीमा परेको आजको कान्तिपुरमा खबर छ ।

जग्गा धरौटी राखेर वैदेशिक रोजगार विभागमा च्याङ्बा ओभरसिज दर्ता गराएका रामेछाप पकरवास ९ का धर्मभक्त लामा सम्पर्कविहीन भइसकेका छन् ।

२०६० पुस १४ गते २५ लाख रुपैयाँ बराबरको जग्गा धरौटी राखेर दर्ता गरिएको यो म्यानपावर खारेज भएको छ । जग्गाधनी माइला तामाङको समेत मृत्यु भइसकेको छ । सञ्चालक लामा सम्पर्कविहीन भएकाले तामाङको जग्गा फुकुवा नभएको हो । ‘बूढाले किन जग्गा धरौटीमा राखे, हामीलाई थाहा छैन,’ माइलाकी पत्नी माइली तामाङले भनिन्, ‘जग्गा अंशबन्डा गर्न मालपोत पुग्दा पो रोक्का छ भन्ने थाहा पायौं ।’

सुरुमा त उनले कसले कुन प्रयोजनका लागि रोक्का गरेको भन्ने थाहै पाइनन् । ‘निकै दु:ख पाएपछि मात्रै म्यानपावर दर्ता गर्न हाम्रो जग्गा धरौटी राखिएको थाहा पायौं,’ उनले भनिन् । उनले अहिले वकिलमार्फत जग्गा फुकुवा गर्न निवेदन दिएकी छन् । विभागका अनुसार २०६४ साउन १ सम्म ५ लाख नगद र २५ लाख रुपैयाँ बराबरको जग्गा धरौटी राखेर ५ सय ९८ म्यानपावर दर्ता भएका थिए । त्यतिखेर धेरैजसो म्यानपावरले धादिङ र काभ्रेका जग्गा धरौटीमा राखेका थिए । त्यसयता मात्रै नयाँ म्यानपावर दर्ता गर्दा ७ लाख नगद र २३ लाख रुपैयाँको बैंक ग्यारेन्टी पेस गर्नुपर्ने व्यवस्था आएको हो । बिक्री नै नहुने जग्गा धरौटी राखेर दर्ता भएका म्यानपावरबाट पीडितलाई क्षतिपूर्ति दिन नसक्ने स्थिति आएपछि सरकारले नगद बढाउनुका साथै बैंक ग्यारेन्टीको प्रावधान ल्याएको थियो ।

जग्गा धरौटी राखेका म्यानपावरमध्ये अधिकांश खारेज भइसकेका छन् । ऐनले जग्गा धरौटी राखेका म्यानपावरलाई एक वर्षभित्र थप नगद र बैंक ग्यारेन्टी राख्न समय दिएको थियो । तर, विभागको कारबाहीमा परेका, काम गर्न नसकेर नवीकरण नगरेका र बैंक धरौटी नबुझाएका म्यानपावर खारेज गरिएको थियो । जग्गा धरौटी राख्ने म्यानपावर सञ्चालकसँग जग्गाधनीको सम्पर्क छैन । ‘अधिकांश म्यानपावर सञ्चालकले आफ्नो नामको जग्गा राखेको देखिँदैन,’ विभागका एक अधिकृतले भने, ‘गाउँका सोझासीधा किसानलाई झुक्याएर धरौटी राखेका छन् ।’

खारेज भइसकेको म्यानपावरले धरौटी राखेको जग्गा खोज्न जग्गाधनी अझै आएका छैनन् । ‘धेरै जग्गाधनी र उनीहरूका परिवारलाई जग्गा रोक्का भएको पनि थाहा छैन,’ ती अधिकारीले भने, ‘अहिले काम नलाग्ने भनिएका जग्गाको समेत मूल्य बढ्न थालेपछि केही परिवारका सदस्यले खोजबिन थालेका छन् । विभागले ३५ दिनको सूचना प्रकाशित गर्दा कोही पीडित क्षतिपूर्ति दाबी गर्न नआएको खण्डमा मात्रै जग्गा फुकुवाका लागि पत्र दिने प्रावधान रहेको जानकारी दिएको छ । ‘म्यानपावरले धरौटी राखेको जग्गा फुकुवा गर्न सञ्चालक वा जग्गाधनी आए ३५ दिनको सूचना प्रकाशित हुन्छ,’ ती अधिकारीले भने, ‘सूचना प्रकाशित भएपछि म्यानपावरविरुद्ध कुनै उजुरी परे छानबिन हुन्छ । उजुरी सही भए क्षतिपूर्ति दिएपछि मात्रै जग्गा फुकुवा गर्न मिल्छ ।’

तपाइको मत