२० फागुन ०७५, काठमाडौं । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।
नेपालका विभिन्न भाग र भारतबाट समेत ठुलो संख्यामा पशुपतिनाथ क्षेत्रमा भक्तजन र बाबाजीहरुको भिड लागेको थियो । शिवरात्रीको अवसरमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाइनमा बसेर पशुपतिनाथको मूल मन्दिर प्रवेश गरेका थिए । ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको थियो ।
महाशिवरात्रिको अवसरमा आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले दर्शन एवं पूजाआजा गरेका थिए ।
फागुन कृष्ण चतुर्दशीमा पशुपतिनाथको शिवलिङ्ग उत्पत्ति भएकाले यस दिन शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।