दशकौंदेखि राज गर्दै आएको वर्गलाई कम्युनिष्टहरुको एकता मन परेको छैन् – प्रचण्ड

१२ साउन ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशकौंदेखि राज गर्दै आइरहेको एउटा वर्गलाई कम्युनिष्टहरुको एकता मन नपरेको बताएका छन् ।

शनिबार काठमाडौंमा अन्टुफ र जिफन्टद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसतर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।

‘दशकौंदेखि राज गर्दै आएको एउटा वर्गलाई कम्युनिष्टहरुको एकता, मजदुरहरुको एकता, श्रमजीवीहरुको एकता, उनीहरुको हातमा नेतृत्व, उनीहरुको हातमा दुई तिहाई बहुमत बिल्कुलै मन परेको छैन्’ अध्यक्ष प्रचण्डले भने ।

प्रचण्डको सम्बोधनको सम्पादित केही अंश…

असाधारण, ऐतिहासिक काम : अन्तर्राष्ट्रिय आयाम

विश्वभरि श्रमजीवी जनतामा एउटा उत्साह छ, हामी जे काम गर्दैछौं, नयाँ काम गर्दैछौं । असाधारण, ऐतिहासिक काम गर्दैछौं । यसको राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय आयाम पनि छ ।

विश्वभरिका मजदुरहरु नेपालको मजदुर आन्दोलनबाट सिक्ने र नेपालको मजदुर आन्दोलनप्रति आशावादी भएर ऐक्यवद्धता जनाउने प्रक्रियामा छन् । हाम्रो दायित्व र जिम्मेवारी धेरै ठूलो छ ।

हाम्राविरुद्ध जतिसुकै घेराबन्दी गरेपनि बुर्जुवाहरु पराजित हुनेछन् । पार्टी र सरकारबाट सकारात्मक पहलहरु सुरु भएका छन् । भारत भ्रमणबाट थुप्रै सकारात्मक कामहरु भएका छन् । वर्षौंदेखि हुन नसकेका कामहरु प्रधानमन्त्रीको भारत भ्रमणपछि सम्पन्न भएका छन् । चाहे त्यो, बिराटनगरको अफिस हटाउने कुरा होस्, चाहे एअर रुटहरु पूर्व, पश्चिम, मध्य सबैतिरबाट दिलाउने, प्राप्त गर्ने कुरा होस्, चाहे त्यो तटबन्धनका कुरा होस्, थुप्रै सकारात्मक सन्देशहरु देखिएका छन् ।

प्रधानमन्त्री (केपी शर्मा ओली)को चीन भ्रमणबाट पनि रेलवेसँग सम्बन्धित सपना, ट्रेड ट्रान्जिट लगायत थुप्रै पहलहरु र संकेतहरु अगाडि आएका छन् ।

मजदुर पक्षीय सरकार र एकताको महत्व :

मजदुर आन्दोलनको कोणबाट देशभित्रै हेर्ने हो भने पनि प्रतिक्रियावादीहरुले जतिसुकै दुस्प्रचार गरे पनि, लान्छानाका एकपछि अर्को झूठा आरोपहरु लगाए पनि सामाजिक सुरक्षा ऐन, श्रम ऐन र वेतनवृद्धि हेर्ने हो भने पनि यो सरकार मजदुर पक्षीय सरकार हो भन्ने प्रमाणित भएको छ । त्यसैले यो सरकारको रक्षा गर्नु, पार्टी एकताको रक्षा र सुदृढ गर्नु जरुरी छ ।

तपाईंहरुले गाउँ–गाउँमा गएर पार्टी एकताको, मजदुर एकताको के महत्व छ ? सरकारले गरेको सकारात्मक कामहरुको महत्व के छ ? भन्ने बुझाउनु जरुरी छ ।

अन्तर्राष्ट्रिय साम्राज्यवादको विरुद्ध र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई पनि नेपालबाट योगदान गर्नु पर्छ भन्ने उद्देश्यका साथ पार्टी एकता गरिएको हो ।

जनताको लोकप्रिय अभिमतमार्फत् देशको नेतृत्व गर्ने जिम्मा लिएका छौं । दशकौंदेखि राज गर्दै आएको एउटा वर्गलाई कम्युनिष्टहरुको एकता बिल्कुल मन परेको छैन् । मजदुरहरुको एकता, श्रमजीवीहरुको एकता, उनीहरुको हातमा नेतृत्व, उनीहरुको हातमा दुई तिहाई बहुमत बिल्कुलै मन परेको छैन् ।

एकता र आन्दोलनलाई तोड्ने दुस्प्रयास :

प्रधानमन्त्री (केपी शर्मा ओली)ले भने जस्तै उनीहरुलाई निन्द्रा लाग्न छोडेको छ । उनीहरु बर्बराउन थालेका छन् । उनीहरुले जे पायो त्यसले हामीलाई हान्ने, हामीलाई घेर्ने कुनै न कुनै रुपले हामीभित्र भ्रम सिर्जना गर्ने, विवाद सिर्जना गर्ने प्रयत्न गरेका छन् ।

हरेक कसरतद्वारा यो कम्युनिष्ट आन्दोलनको एकतालाई मजदुर र श्रमजीवी जनताको एकता र आन्दोलनलाई तोड्ने दुस्प्रयास गर्दैछन् । उनीहरुको यो दुस्प्रयासलाई असफल पार्न हामीसँग संगठनको शक्ति, विचारको शक्ति त्यसमा पनि श्रमजीवी मजदुरहरुको संगठन र शक्ति बाहेक हाम्रो अर्को कुनै अचुक हतियार छैन् ।

ती सामन्तहरुले, बुजुर्वाहरुले दशकौंदेखि शासन गरेकाहरुले, नेपाली जनताको रगत पसिनामाथि होली खेलेका वर्गले हामीलाई माया गरेर यो ठाउँमा ल्याइदिएका होइनन् । हामीले आफ्नै रगत र पसिनाको बलमा, त्याग र बलिदानका कृतिमान कायम गरेर उनीहरुसँग खोसेर यो ठाउँ बनाएको हो ।

हाम्रो अपराजयता विचारको सहीपनामा, संगठनको शक्तिमा र जनतासँगको सम्बन्ध र संकल्पमा छ ।

कम्युनिष्टहरु नमिल्दा अर्को ७० वर्ष शासन गर्ने, दमन गर्ने षड्यन्त्र :

अहिले पनि प्रतिक्रियावादीहरुले फुटाउ र शासन गर नीति अपनाएकाले कम्युनिष्टहरु नमिल्दा अर्को ७० वर्ष शासन गर्ने, दमन गर्ने षड्यन्त्र देख्यौं ।
हामीले इतिहासको समीक्षा ग¥यौं, एकता नहुने हो भने के हुन्छ ? भन्ने आंकलन पनि ग¥यौं । हामी आपसमा नमिल्दा हुनसक्ने परिणति अर्को ७० वर्ष प्रतिक्रियावादी वर्गले नै राज गर्ने, खतरा आउन सक्ने देख्यौं ।

यो ऐतिहासिक अवसर हो, हामीले साहस गर्नै पर्दछ, यो ऐतिहासिक क्षण हो भन्ने निष्कर्षमा पुगेपछि दुई कम्युनिष्ट (नेकपा माओवादी केन्द्र र नेकपा एमाले) बीच एकता सम्भव भएको हो ।

तपाइको मत