११ माघ ०७५, काठमाडौं । दक्षिण एसियाली महिलाहरुको क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
दक्षिण एसियाका आठै देशका महिला अधिकारकर्मीहरुको सहभागीता रहने सम्मेलन दुई दिनसम्म चल्नेछ ।
दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री इश्वर पोख्रेलले नेपालको संबिधान र कानुनले गरेको व्यवस्थाको कारणले पछिल्लो समय महिलाको राजनीतिक र नीति निर्माणको क्षेत्रमा उपस्थिति गौरब गर्न लायक रहेको बताए ।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले हालै नेपालमा सम्पन्न भएका निर्वाचनहरु समावेशी र लैङ्गिक समानताका हिसाबले इतिहासकै ठुलो राजनीतिक सफलता भएको भन्दै नेपालमा महिलाहरुको समग्र क्षेत्रमा प्रतिनिधित्व बढ्दै गएको र महिलाका मुद्दाहरु पनि शसक्त बनिरहेको अवस्थामा यस्ताखाले सम्मेलनले अझ उल्लेख्य रुपमा कार्य गर्न महिलाहरुलाई सहयोग पुग्ने बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग की सदस्य मोहना अन्सारीले सार्क क्षेत्रका धेरै मिल्दा जुल्दा समस्या रहेको र त्यसका निम्ति साझा समाधान खोज्न यो कार्यशालाले महत्वपुर्ण भूमिका खेल्ने बताउँदै अझैपनि सार्क क्षेत्रमा विद्यमान आप्रवासन, बालविवाह, मानव बेचबिखन लगायतका समस्याहरु संयुक्त रुपमा न्यूनीकरण गर्न कस्तो कदम चाल्न सकिन्छ भन्ने बिषयहमा छलफल गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै सार्कका माहासचिव अहमद हुसैनले महिला शसक्तिकरण सार्कको एजेण्डाको प्राथमिकतामा रहेको बताउँदै सार्क क्षेत्रमा महिलाहरुको राजनीतिक, सामाजिक तथा नीति निर्माण क्षेत्रमा सहभागीता बढ्दै जानु उल्लेखनीय र प्रशंसनीय रहेका बताए ।
कार्यक्रममा युनिफिम साउथ एसियाकी पूर्वप्रमुख चाँदनी जोशीले यो सम्मेलन लैङ्गिकताको यात्राको पुर्नमिलन रहेको र दक्षिण एसियाली महिलाहरुले महिला हिंसा बिरुद्ध ठुलो आवाज निकाल्न एकबद्ध हुनुको बिकल्प नरहेको बताए ।
कार्यक्रममा बोल्दै सम्मेलनको सह–आयोजक तथा राष्ट्रिय महिला आयोगकका सचिब अनिलकुमार ठाकुरले दक्षिण एसियाका राष्ट्रहरुले लैंङ्गिक असमानताको समस्यासंग एकबद्ध भएर सामुहिक कार्य गर्नुपर्ने बताए ।