१० असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय २९ जनामा कोभिड १९ पुष्टि भएको बताएका छन् ।
प्रवक्ता गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा नयाँ संक्रमितमा १ सय १० जना महिला र ५ सय १९ जना पुरुष रहेको र योसँगै कोरोना संक्रमितको कूल संख्या १० हजार ७ सय २८ पुगेको जानकारी दिएका हुन् ।
उनले देशका विभिन्न अस्पतालको आइसोलेसनमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेको र क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना रहेको बताए । साथै, हालसम्म नेपालमा निको हुने कोरोना संक्रमितको संख्या २ हजार ३ सय ३८ पुगेको पनि उनले बताए ।
नेपालमा अहिलेसम्म २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।