१४ फागुन, काठमाडौं । विभिन्न विद्यार्थी संगठनले क्याम्पसहरुमा गरेको तालाबन्दीले स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवारी दर्ता प्रभावित भएको छ ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङकाअनुसार काठमडौंमा थापाथली र पुल्चोक इन्निनियरिङ क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस तथा सानोठिमी शिक्षा क्याम्पसमा बाहेक राजधानीका अधिकांश क्याम्पसमा तालाबन्दी भएको छ ।
बैद्य तथा बिप्लब निकट विद्यार्थी संगठनले अधिकांश क्याम्पसमा तालाबन्दी गरेका छन् भने केही क्याम्पसमा नेबि संघ र नयाँ शक्ति निकट विद्यार्थी संगठनले पनि तालाबन्दी गरेको छ ।
संशोधित कार्यतालिकाअनुसार शनिबार सार्बजनिक विदा भए पनि स्ववियु चुनाव हुने काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसहरुमा उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल सँस्कृत विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा फागुन १८ गते स्ववियु निर्वाचन हुँदैछ ।
हरेक दुई-दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन यसपटक आठ वर्ष पछि हुँदैछ ।
यसपटक स्ववियु निर्वाचनकै इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रित चुनाव प्रणाली अपनाइँदैछ ।