ट्रेड युनियन र रोजगारदाताबीच श्रमिकको पारिश्रमिक भुक्तानीका विषयमा द्विपक्षीय सहमति

१३ साउन ०७७, काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी) र रोजगारदाताहरुको संस्था बीच लकडाउन अवधिको श्रमिकको पारिश्रमिक भुक्तानीका विषयमा द्विपक्षीय सहमति भएको छ ।

जेटीयुसीसीआवद्ध अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले मंगलबार रोजगारदाता र ट्रेड युनियनबीच श्रमिकको पारिश्रमिक भुक्तानी लगायतका विषयमा द्विपक्षीय सहमति भएको जानकारी दिए ।

उनले भने, उद्योग प्रतिष्ठानले २०७६ चैत्र महिनाको पारिश्रमिक भुक्तानीको हकमा लकडाउन अवधि समेतका लागि साविक बमोजिम पूरा पारिश्रमिक भुक्तानी गर्ने, श्रमिकको पारिश्रमिक बारे नेपाल सरकारको निर्णयको सन्दर्भमा २०७७ बैशाख महिनाको लागि श्रमिकको ५० प्रतिशत पारिश्रमिक भुक्तानी गरी फरफारक गर्ने र २०७७ जेष्ठ महिनाको हकमा लकडाउनका कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पाउने पारिश्रमिकको ५० प्रतिशत मात्र भुक्तानी गर्ने द्विपक्षीय सहमति भएको छ ।’

यस्तै उद्योग व्यवसाय क्षेत्रको प्रकृति फरक फरक हुने भएकाले व्यवसायको प्रकृति र अवस्थाअनुसार उद्योग प्रतिष्ठानको सहज सञ्चालन, लकडाउन अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकहरुलाई आलोपालो गरी काममा लगाउने लगायतका विषयमा सम्बन्धित वस्तुगत संघ तथा सो क्षेत्रसँग सम्बन्धित उद्योग प्रतिष्ठानका रोजगारदाता र प्रतिष्ठानस्तरका ट्रेड युनियनहरुले पनि आपसी छलफल गरी सहमति गर्न सक्ने सहमति गरिएको उनले बताए ।

यसैगरी द्विपक्षीय सहमतिमा सबै श्रमिक कर्मचारीहरुको रोजगारी सुनिश्चितताको लागि उद्योग प्रतिष्ठानले श्रमिक संख्या यकिन गरेर श्रमिकहरुलाई कार्य सिफ्ट तोकि आलोपालो काममा लगाउन सकिने साथै समानुपातिक ढंगबाट काम लगाई श्रमिकले काम गरेको अनुपातमा पारिश्रमिक भुक्तानी गरिने उल्लेख गरिएको छ ।

उनले सम्पूर्ण उद्योग प्रतिष्ठानहरुले कर्मचारीको स्वास्थ्य सुरक्षाको लागि आवश्यक व्यवस्था मिलाउने साथै कोरोना भाइरसका कारण मानव स्वास्थ्यको सुरक्षामा चुनौती देखिएकाले श्रमिक वर्ग र श्रम क्षेत्रमा परेको प्रभाका बारेमा नेपाल सरकारलाई रोजगारदाता र ट्रेड युनियनहरुले संयूक्त रुपमा अनुरोध गर्ने सहमति गरिएको समेत जानकारी दिए ।

सहमतिको पूर्णपाठ