९ असार ०७७, काठमाडौं । उपत्यकाभित्र सञ्चालनमा रहेका भाडा कार (ट्याक्सी) चालक मजदुर तथा स्वरोजगार व्यवसायीहरुले चाबीसहित सबै ट्याक्सी नेपाल सरकारलाई जिम्मा लगाउने चेतावनी दिएको छ ।
अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी बिशेष समिति र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक समाजले यातायात व्यवस्था बिभागका महानिर्देशकलाई सोमबार ५ बुँदे मागपत्र बुझाउँदै असार १५ गतेभित्र आफ्ना मागको सुनुवाई नभए यातायात व्यवस्था विभागमार्फत् नेपाल सरकारलाई चाबीसहित सबै ट्याक्सी जिम्मा लगाउने चेतावनी दिएका हुन् ।
ट्याक्सी चालक मजदुरहरुले ट्याक्सी सञ्चालन मोडालिटी बनाएर तत्काल ट्याक्सी सेवा सञ्चालन गर्न आग्रह गर्दै मागपत्रमा भनेका छन्, “ट्याक्सी संचालन मोडालिटी बनाएर तत्काल ट्याक्सी सेवा संचालन गरियोस्, अन्यथा बाध्य भएर २०७७ असार १५ गते भित्र हाम्रा समस्या समाधान नभएमा उपत्यकामा संचालनमा रहेका सम्पूर्ण ट्याक्सी र यो व्यावसायमा आस्रित स्वरोजगार मजदुर तथा चालक र व्यवसायीहरुको तर्फबाट सम्पूर्ण भाडा कार (ट्याक्सी) सहित चाबी यातायात व्यावस्था बिभागमार्फत् नेपाल सरकारलाई जिम्मा लगाउन बाध्य हुने व्यहोरा समेत जानकारी गराउँदै यो ज्ञापन पत्र पेश गर्दछौं ।”
उनीहरुले मजदुरको सरकारले निजी सवारी साधनलाई चल्न दिइएको तर गरिखाने वर्ग मजदुरका सोही प्रकृतिका ट्याक्सीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चल्न दिनुपर्नेमा नदिएर विभेद गरेको बताएका छन् ।