२६ जेठ ०७५, काठमाडौं । जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ ।
शनिबार दिउँसो नेपालगन्जबाट जुम्लाका लागि उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर जाँदा दुर्घटना भएको हो । विमानमा रहेका १८ यात्रु र ३ जना चालक दलका सदस्य सबै सकुशल छन् ।
जहाजको नोज (अगाडिको भाग) मा क्षति पुगेको तारा तथा यति एयरका मिडिया म्यानेजर भीमराज राईले बताए ।
शनिबारै नागरिक उड्डययन प्राधिकरणले जहाजको प्राविधिक अवस्था जाँच्न काठमाडौंबाट प्राविधिकहरुको टोली पठाएको छ । प्राविधिक टोलीले जहाज मर्मत गरेर उडान योग्य छ या छैन भन्नेबारे अध्ययन गर्नेछ ।