१९ असोज ०७५, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनीको बजार भाउ बढाउनमा आर्थिक चलखेल भएको भन्ने आरोप तथ्यहीन भएको बताएका छन् ।
शुक्रबार मन्त्री यादवले आफ्नै मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक लेखा समितिले चिनीको बजार भाउ बढाउनमा चलखेल भएको कुरा असत्य भएको भन्दै सो कुरा बताएका हुन् ।
सम्मेलनमा मन्त्री यादवले तथ्यहीन आरोप लगाउनेमाथि छानविन गरेर दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सभामुख समक्ष निवेदन दिएका समेत बताए ।
चिनीको भाउ बढाउन कसैले गडबढ गरेको भए त्यसलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै पत्रकारसमक्ष मन्त्री यादवले पत्रकारले प्रमाण बिना पैसा नपाएर अर्बको समाचार लेखेको आरोप लगाए । उनले भने –‘प्रमाण बिना जे मन लाग्यो त्यही लेख्नेलाई पनि कारबाही हुनुपर्छ ।’
सार्वजनिक लेखा समितिले असोज १४ गतेको बैठकमा समिति सदस्यले चिनीको भाउ बढाउन करिव १ अर्ब ६९ करोड रुपैयाँको चलखेल भएको आरोप लगाएका थिए ।
त्यस्तै, मन्त्री यादवले लेखा समितिले बिहीबार चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ भन्दा बढी नतोक्न सरकारलाई दिएको निर्देशनमा असहमति जनाउँदै समितिले तालुकदार मन्त्रालयका मन्त्रीलाई नबोलाई मूल्य तोकेकोमा असन्तुष्टि जनाएका थिए ।