४ मंसिर ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र नेपालका लागि फ्रान्सका राजदुत फंसोआ जाविये लेजेबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार गृहमन्त्रालयमा भएको भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्धिपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दैे आगामी दिनमा समेत सहयोगले निरन्तता पाउने विश्वास व्यक्त गरे ।
नेपालमा लगानी गर्ने अहिले उपयुक्त समय रहेको भन्दै गृहमन्त्री थापाले नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा फ्रान्सेली लगानीकर्तालाई लगानीका लागि आवश्यक समन्वय गरीदिन राजदुत लेजेलाई आग्रह गरे ।
गृहमन्त्री थापाले संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा जाने नेपाली केही सुरक्षाकर्मीलाई फ्रान्सले फ्रान्सेली भाषा सिकाउन गरेको सहयोगप्रति राजदुतमार्फत फ्रान्स सरकारलाई धन्यवाद व्यक्त गरे ।
भेटमा गृहमन्त्री थापाले सुरक्षाकर्मीलाई तालिम र विपद व्यवस्थापनका लागि आवश्यक सामाग्रीमा सहयोगका लागि राजदुतसँग आग्रह गरे ।
राजदुत लेजेले केही समयअघि नेपाल र फ्रान्सका सांसदहरु रहेको समुह निर्माण भएको बताउँदै यसले दुई देशबीच थप सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
नेपालमा वर्षेनी ३० हजार बढी फ्रान्सेली पर्यटकहरु नेपाल भ्रमण आउने गरेको र उनीहरुको सुरक्षाबारे चाँसो व्यक्त गर्दै राजदुत लेजेले हालसम्म नेपालले फ्रान्सेली पर्यटकहरुलाई दिँदै आएको सुरक्षाबाट आफुहरु सन्तुष्ट रहेको बताएका थिए ।
फ्रान्सका राजदुत लेजेले विपद् व्यवस्थापन लगायत अन्य क्षेत्रमा नेपाललाई सहयोग गर्न आफुहरु तयार रहेको बताए ।