२९ बैशाख ०८०, काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट अखिल नेपाल ट्रेड युनियन महासंघले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु मानवतस्कर हुन भन्दै संलग्नलाई कारबाहीको माग गरेर प्रदर्शन गरेका छन् ।
महासंघले शुक्रबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकालेर कोणसभा गरी सरकारले भ्रष्टाचारीलाई कारवाही सुरु गरेर सामाजिक न्यायसहितको सुशासन, विकास र समृद्धिको पथमा अघि बढेको भन्दै ऐक्यवद्धता तथा खबरदारीसहित प्रदर्शन गरेको हो ।
“खबरदार सरकार खुट्टा नकमाउ ! जनता तिम्रो साथमा छन् !, ऐक्यवद्धता र खबरदारी आम नागरिकको जिम्मेवारी ” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर माओवादी केन्द्र निकट अन्य जनवर्गीय संगठन पनि महासंघको र्यालीसँगै सहभागी भई ऐक्यवद्धता तथा खबरदारी गरेका थिए ।
भ्रष्टाचार विरुद्धको ऐक्यवद्धता तथा खबरदारी नाम दिइएको उक्त प्रदर्शनमा सहभागीहरुले भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी खोइ ? भन्ने प्लेकार्ड समेत बोकेर र्यालीमा सहभागी भएका थिए ।
एमाले सचिव रायमाझी पक्राउ पुर्जी जारी भएसँगै सम्पर्कबाहिर रहेका छन भने प्रहरीले खोजी कार्य जारी राखेपनि पक्रन सकेको छैन् ।