१३ पुस ०७५, काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले खटाएको कार्य क्षेत्रमा नजाने कर्मचारीलाई बिदा गर्नुपर्ने बताएका छन् ।
शुक्रबार काभ्रेको चौरी देउराली २ खाँडादेवी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले खटाएको ठाँउमा नजाने कर्मचारीलाई बिदा गरेर नयाँ भर्ना गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले राष्ट्रसेवक भनिएका कर्मचारी ऐन, कानुनको व्यवस्था अनुसार देशको कुनै पनि भागमा जानुपर्ने बताउँदै भने– ‘यदि जान तयार नहुने हो भने राज्यले बिदा गरिदिनु पर्दछ ।’ उनले तत्काल कर्मचारी समायोजन गरेर संविधान कार्यान्वयनतिर लाग्नुपर्नेमा जोड दिँदै संघ, प्रदेश र स्थानीय सबैतिर कर्मचारी सामायोजन प्रक्रिया सुरुवात हुन लागेको पनि बताए ।
अध्यक्ष दाहालले सिंहदरबारकेन्द्रित अधिकार गाउँ–गाउँमा पुगोस् भन्ने उद्देश्यले संघीयता र गणतन्त्र ल्याएको बताउँदै कर्मचारी समायोजन बेलैमा नहुँदा उक्त कुरा पूरा हुन ढिलाई भइरहेको बताए ।