कोरोना अपडेट : नयाँ पुष्टि ५७, कूल संक्रमित संख्या १९१

३० बैशाख ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का पुष्टि भएकाहरूको संख्या १९१ पुगेको जनाएको छ ।

मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ५७ पुगेको जानकारी दिएको हो ।

संक्रमित सबै जना पुरुष रहेको र जसमध्ये कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना र बारा जिल्लाका १ जना रहेको मन्त्रालयले बताएको छ ।

हालसम्म प्राप्त विवरणअनुसार निजहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले बताएका छन् ।