१९ भदौ ०७५, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारका रातो सूचीमा राखिएका ९८ मध्ये ६ वटा स्टलको सम्झौता खारेज भएको छ ।
आफ्नो नाममा स्टल भाडामा लिएर बढी मूल्यमा अरुलाई भाडामा दिएको गुनासो आएपछि ती स्टलको अध्ययनपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ६ वटा स्टलको सम्झौता खारेज गरेको हो ।
सम्झौता खारेज गरिएका स्टलमा मोहम्मद जुमैद, इस्राफिल कवारी, पुरुषोत्तम राई, पार्वती श्रेष्ठ, रामबहादुर खड्का र विष्णुकुमार बस्नेतको रहेको समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले जानकारी दिए ।
समितिले ९८ वटै स्टललाई स्पष्टिकरण सोधेको मध्ये ६ वटा स्टलले कुनै जवाफ नपठाएपछि समितिको मंगलबार बसेको बैठकले असोज १ गतदेखि लागू हुनेगरी सम्झौता खारेज गरेको कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए ।
स्पष्टिकरणको जवाफ पठाउने स्टलको हकमा समितिले थप अध्ययनका लागि भदौ २३ गतेभित्रमा प्रतिवेदन बुझाउने गरी एउटा उपसमिति गठन गरेको छ ।
भदौ २४ गते बस्ने सञ्चालक समितिको अर्को बैठकले उपसमितिको प्रतिवेदनको आधारमा अन्य स्टलसँग गरिएका सम्झौताहरु खारेज गरिने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।