कालिमाटी तरकारी बजारका ५१ स्टलको सम्झौता खारेज

२ असोज ०७५, काठमाडौं । सरकारले कालिमाटी तरकारी बजारका ५१ स्टलको सम्झौता खारेज गरेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मंगलबार बसेको बैठकले ५१ स्टलको सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।

स्टलहरु खारेज गर्ने निर्णय गर्कोसमितिले यसअघि ६ वटा स्टलको सम्झौता खारेज गरेको थियो । यो सँगै समितिले रातो सूचीमा राखेका ९८ मध्ये ५७ वटा स्टलको सम्झौता खारेज गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए ।

त्यस्तै, बैठकले २५ वटा स्टललाई सफाइ दिने र सामान्य त्रुटी देखिएको १६ वटा स्टललाई खारेज नगरी थप कागजात माग गर्ने निर्णय गरेको छ ।

रातो सूचीमा परेपछि स्पष्टीकरण सोधिएको सबै ९८ स्टल सञ्चालकमध्ये चित्तबुझ्दो जवाफ नदिएका स्टल खारेज गरिएको कृषि मन्त्रालयले जनाएको छ ।

आफ्नो नाममा न्युनतम १०–१२ हजारदेखि २० हजारसम्म स्टल भाडामा लिएर धेरैले ४ देखि ५ लाख रुपैयाँसम्म बढी मूल्यमा अरुलाई भाडामा दिएको गुनासो आउन थालेपछि समितिले स्पष्टीकरण सोधेको थियो ।

तपाइको मत