१३ साउन ०७५, पर्सा । वीरगंज महानगरपालिकाले निर्धारण गरेको कर वृद्धिको विरोधमा विभिन्न संघसंस्था र व्यवसायीले विरोध प्रदर्शन गरेका छन् ।
आइतबार गत वर्षको तुलनामा चालु आर्थिक वर्षका लागि झन्डै एक हजार प्रतिशत कर वृद्धि गरेको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा दुई दर्जनभन्दा बढी संघसंस्थाले विरोध प्रदर्शन गरेका हुन् ।
वृद्धि गरिएको कर पुनरावलोकनका लागि महानगरपालिकालाई ७ दिने अल्टिमेटम सहित मेयर विजय सरावगीलाई ज्ञापनपत्रसमेत बुझाएको संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए ।
घण्टाघरबाट निकालिएका जुलुसमा सहभागीले कवाडी कर खारेज गर, औद्योगिक उत्पादन कर खारेज गर, सम्पत्ति, घर जग्गा करमा गरेको वृद्धि खारेज गर लगायतका प्लेकार्ड बोकेका थिए ।