२१ मंसिर काठमाडौं । दिगो लोकतन्त्रको निर्माणः निर्वाचनका चुनौती र अवसरहरूको सम्बोधन’ विषयक एसियाली निर्वाचन सरोकारवाला मञ्चको छैठौं सम्मेलन सम्पन्न भएको छ ।
काठमाडौंमा मंसिर २० र २१ गते भएको सम्मेलन २७ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन मन्तव्यका क्रममा परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले निर्वाचन आयोगले संवैधानिक रूपमा स्वतन्त्र निकायका रूपमा काम गरेको र तीन तहको निर्वाचनलाई पटकपटक सफलतापूर्वक सम्पन्न गरेको बताउँदै स्वतन्त्र, निष्पक्ष र निष्पक्ष निर्वाचन सुनिश्चित गर्नका लागि विद्यमान निर्वाचन कानुन परिमार्जन गर्न सरकार तयार रहेको बताए ।
उद्घाटन सत्रका प्रमुख वक्ता पूर्व भारतीय प्रमुख निर्वाचन आयुक्त एस. वाई. कुरैशीले निर्वाचन व्यवस्थापन सुधारको विषय वृहत, निरन्तर र चुनौतिपूर्ण रहेको भन्दै असल अभ्यासको सिकाई निर्वाचन व्यवस्थापन निकायका लागि एक महत्वपूर्ण अवसरको रुपमा रहने बताए ।
निर्वाचन आयोग, नेपाल र एशियन नेटवर्क फर फ्रि इलेक्शनको संयुक्त आयोजनामा भएको सम्मेलनमा एसियाली क्षेत्र लगायतका विभिन्न ४० देशका करिब २५० जनाको सहभागीता रहेको थियो । जसमध्ये ९ विभिन्न देशका निर्वाचन व्यवस्थापन निकायका २४ जना पदाधिकारीहरु समेत उपस्थित रहेका थिए ।