२ साउन ०७८, काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरु पार्टी एकताका लागि दौडधुप गरिरहेका छन् ।
पार्टीभित्रको अन्तरविरोध बढ्दै गएपछि नेकपा एमालेको शुक्रबार मात्रै खारेज गरिएको कार्यदलका सदस्यहरु भेटघाट र छलफलमा जुटेका हुन् ।
शनिबार सिंहदरबारमा बसेको बैठकमा सहभागीहरुले दशबुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता जोगाउने विषयमा गम्भीर कुराकानी गरेको एमाले नेता सुवास नेम्वाङले बताएका छन् ।
अध्यक्ष ओलीले शुक्रबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकस्थल पुगेका नेपाल पक्षका नेताहरुले बैठक स्थगित गरेर दशबुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए । तर, ओलीले बैठक अगाडि बढाएसँगै दुईपक्षबीच थप अन्तरविरोध बढेको छ ।
तर, एमाले नेता नेम्वाङले दशबुँदे सहमतिलाई ओली समूहको स्थायी कमिटीले अनुमोदन गरिसकेको बताउँदै त्यसलाई कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउनु पर्नेमा जोड दिएका छन् ।
एमालेका अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरुको स्थायी समिति बैठकबाट शुक्रबार दशबुँदे सहमति अनुमोदन गर्दै एमाले एकताका लागि गठित कार्यदललाई खारेज गरिदिएका थिए ।