लागुऔषधको प्रयोग र कारोबार घटाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

२४ जेठ ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले एक वर्षभित्र लागुऔषधको प्रयोग र कारोबार आधा घटाउने गरी काम गर्न निर्देशन लिएका छन् ।

बिहीबार लागुऔषध नियन्त्रण राष्ट्रिय निर्देशनालय तथा समन्वय समितिको बैठकमा गृहमन्त्री थापाले सरकार पाँच वर्ष चल्ने भएकोले सो अवधिभित्र लागुऔषधको प्रयोग र ओसारपसार देशभित्रपूर्ण रुपमा निषेध हुने गरी कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।

कार्यक्रममा बोल्दै थापाले भने –‘अहिले लागुऔषधको प्रयोगकर्ता वार्षिक ११ प्रतिशतका दरले बढिरहेकोले हामीले आँट गर्ने हो भने एक वर्षमा त्यसलाई आधा घटाउन सकिन्छ ।’

गृहमन्त्री थापाले चिकित्सकको सिफारिसबिना मनोद्धिपक औषधी बेच्ने स्वास्थ्यसंस्था र औषधी पसलहरुलाई ईजाजतपत्र रद्ध गर्नेसम्मको कानुनी व्यवस्था गर्नुपर्ने बताए ।

स्वास्थ्य मन्त्रालयका डा. पुष्पा चौधरीले औषधी पसलको अनुगमनका लागि जनशक्ति अभाव रहेको भन्दै अब अनुगमनलाई तिव्रता दिने बताए ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले सातै प्रदेशमा टोली बनाएर एकै पटक लागु पदार्थविरुद्ध कारवाही सुरु गरिनुपर्ने बताए ।

तपाइको मत